७ बैशाख २०८१, शुक्रबार

लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएन


naya-sakti

काठमाडौं- नेकपा माले जनसमाजवादीसँग लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन। आयोगका अनुसार नयाँ दल दर्ता गर्न पहिल्यै दर्ता भइसकेका पार्टीसँग नाम र लोगो मिल्नुुहुँदैन। नयाँ शक्तिले प्रेस गरेको लोगोमा रातो झन्डामा पाँचकुने तारा अंकित छ। जनसमाजवादीको लोगो पनि यही छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसहित नेताले गत असार २६ मा निर्वाचन आयोग पुगी दल दर्ताको निवेदन बुझाएका थिए। निवेदनपछि पार्टी दर्ता भएको भन्दै प्रचार गरेका थिए।

कुनै पनि पार्टीसँग नजुध्ने गरी नयाँ झन्डा लिएर दर्ता गर्न आउन आयोगले नयाँ शक्तिलाई पत्र पठाइसकेको छ। तर, अहिलेसम्म नयाँ शक्तिले नयाँ लोगो पेस गरेको छैन। उक्त दलले जेठ ३० गते दशरथ रंगशालामा सामूहिक शपथग्रहण गर्दै औपचारिक रूपमा पार्टी घोषणा गरेको थियो।

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न दलको भेला अर्थात सम्मेलनको निर्णय प्रतिलिपि, कार्यसमितिको नाम, पार्टीको विधान, नियमावली, घोषणापत्र, लोगो, झन्डासहित उपस्थित हुनुपर्ने प्रावधान छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !