११ बैशाख २०८१, मंगलबार

मधेसी मोर्चाको अनसनस्थलमा गएर प्रचण्डले भने, मलाई माइति आएजस्तो लागेको छ


prachanda and madhesi morcha

काठमाडौँ : संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा सम्मिलित २९ दल र समूहको संघीय गठबन्धनले ३९ दिनदेखि गरिरहेको रिले अनसनको अन्तिम दिन टुँडिखेल खुलामञ्चमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई घरबाट माइती आएको जस्तो लागेको प्रतिक्रिया दिएका छन्।

‘मलाई घरबाट माइती आएको जस्तो लागिरहेको छ,’ गठबन्धनका शीर्ष नेताहरु अनसन बसेको स्थलमा प्रचण्डले भने, ‘मैले आफैले जन्माएको आन्दोलन हो यो।’

उनले कुनै बेला बाटाहरु मोडिए पनि अहिले सबै मूल बाटोमा आइपुगेको बताए। ‘मेरो नेतृत्वमा कांग्रेससहितको सरकार बन्दैछ’, उनले अनसनमा रहेका नेताहरुलाई प्रतिवद्धता दिलाए, ‘तपाईँहरुको माग पूरा हुन्छ।’

उनले नेपाली कांग्रेससँग गरेको सात बुँदे सहमतिको एक नम्बरमा नै मधेस समस्या समाधान गर्ने विषय राखेको बताए।

‘यो सरकार बनाउनको लागि तपाईँहरुको पनि भूमिका छ भन्ने लाग्छ,’ प्रचण्डले आफूलाई साथ दिन पनि गठबन्धनसित आग्रह गरे।

गठबन्धनसँग सम्बद्ध दलहरूसित ४२ जना सांसदहरू रहेका छन्। ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने गठबन्धनले बुधबारै विज्ञप्ति प्रकाशित गरी जनाएको थियो।

कार्यक्रममा प्रम ओलीलाई व्यङ्ग्य गर्दै नयाँ सरकार चाहिन्छ भन्ने व्यहोराको गीतमा नृत्य प्रस्तुत गरिएको थियो।

संविधान पुनर्लेखनसहित जारी संविधान र जनजीविकासँग सम्बन्धित २६ बुँदे मागहरू राखेर गठबन्धन आन्दोलनमा होमिएको हो।

संविधान जारी हुनुभन्दा अगावै २०७२ साउन ३१ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन थालेको थियो भने ६ महिना तराई–मधेसमा लामो आम हड्तालतासहित नाकामा धर्ना समेत दिएको थियो।

उपत्यकाकेन्द्रित आन्दोलन यता सरकारले गठबन्धनलाई औपचारिक वार्ताका लागि बोलाएको थिएन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !