काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आज उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।
आज राती सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएको जानकारी दिएका हुन् । प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले राजीनामा दिएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-२ को उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।
मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन् ।
“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु”, राजीनामा पत्रमा भनिएको छ ।












