११ बैशाख २०८१, मंगलबार

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण


Nepalpatra

३० असार, भक्तपुर । पर्यटन क्षेत्रको विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले नगरकोटमा आज सम्पन्न गरेको दुई दिने पर्यटनको विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरको कुल आयमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकास र प्रवर्दनमा सञ्चारकर्मीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले पत्रकारले यस क्षेत्रको विकासका लागि संवेदनशील भएर तथ्यपरक समाचार लेख्नुपर्ने बताउँदै सन् २०२० लाई भिजिट नेपाल अभियान चलाउन सरकारले गरेको तयारी पूरा गर्न अब हरेक प्रदेशमा कम्तिमा १० वटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिने विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले सञ्चार र पर्यटन क्षेत्रको सम्बन्ध माछा र पानीको जस्तो रहेको चर्चा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पर्यटन क्षेत्रमा भएका लगानीलाई सुरक्षित गर्दै नयाँ लगानीकर्तालाई आकर्षित गर्दै रोजगारीका अवसर बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोटमा हाल वार्षिक तीन लाख पर्यटक आउने गरेको बताउँदै अबको चार वर्षमा सो संख्या वार्षिक छ लाख पु¥याउने लक्ष्यअनुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

त्यस अवसरमा सहजकर्ता पत्रकार जुनारबाबु बस्नेत, नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नविन गुरुङ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले भक्तपुर नघुम्दा आधा विश्वको भ्रमण छुटेजस्तो हुने अन्तर्राष्ट्रिय पर्यटकको भनाइले भक्तपुरको पर्यटकको महत्वलाई उजागर गरेको उल्लेख गर्नुभयो ।

हनुमन्ते सफाइ अभियानको २०औँ हप्ता 

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २०आँै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ ।

आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिन आएको हनुमन्ते नदीको बाढीबाट डुबानमा परेको मध्यपुरथिमिको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरिएको छ ।

बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहर संकलन गर्नुका साथै डुबानमा परेका बस्तीका बासिन्दाको घरभित्र थुपिएको फाहर संकलन गर्ने र सफाइ गर्ने काम भएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

सफाइ अभियानमा सरकारी अधिकृत,जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता थियो ।

डुबानको समस्यामा परेका यहाँका बासिन्दाको सामान सार्न, सफाइ गर्न अभियन्ता टोलीले सहयोग गरेको थियो । अर्को साता पनि यही ठाउँमा थप सफाइ गर्ने भएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !