४ श्रावण २०८२, आइतबार

राप्रपाले संसदमा आज पनि विरोध जारी राख्ने


राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठकमा आज मंगलबार पनि विरोध जनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा विरोध कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बनाएको छानबिन समिति पनि झारा टार्ने काम गरेको ठहर गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो।

राप्रपाले पछिल्लो समय प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै आएको छ। विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले संसद चलाएको भन्दै उनीहरूले बहिष्कार गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ। रास्वपाले विरोधमा वेल घेराउ गर्दै आएको छ।

प्रतिनिधि सभा बैठकमा आज बजेट पारित गर्ने कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !