५ असार २०८२, बिहीबार

कार्यकर्ता भेट्न एमालेको अनुमति लिनुपर्दैन, गुट बनाएको छैन : पूर्वराष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको संगठित सदस्यता लिनुपूर्वदेखि नै पार्टीमा काम गरेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् । उनले नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको स्पष्ट पारिन् ।

भण्डारीले वाम एकताको सम्भावनाका साथै सक्रिय राजनीतिमा आउने सम्भावना र अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावी नेतृत्वबारे चलाइएका चर्चाबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित जिज्ञासा समेत मेटाउने कोसिस गरेकी छन् ।

कुराकानीको क्रममा उनले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने समेत अभिव्यक्ति दिइन् । उनले आफू समाजसँग साक्षात्कार गर्न तथा नयाँ पुस्ताको चाहना बुझ्न घुमफिरमा निस्किएको बताइन् । आफूले कुनै गुटगत राजनीति नगरेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति आफूलक्षित हुन नसक्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !