
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
सर्वोच्चले सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू तीन थरी आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा जारी गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो ।
योसँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ। सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको हो ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए। सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन थियो।
उनीमाथि २०६२ सालमा तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेला परेको थियो।
लामाको हत्यामा सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन् । सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले सापकोटाविरुद्ध परेको जाहेरीमाथि फेरि अनुसन्धान अघि बढाउनु पर्नेछ ।