
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग लन्च मिटिङ गरेका छन्। काठमाडौँको सोल्टी होटलमा पूर्वराजा शाहसँग ४ शीर्ष राजावादी नेताहरुसंग लन्च मिटिङ गरेका हुन् ।
पूर्वराजा शाहले आज बिहीबार सोल्टीमा ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेका हुन् ।
आज बिहान ११ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको गोप्य स्रोतले बताएको छ । आगामी १५ चैतदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’ लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा रहेका राजावादी नेताहरुले यसैको सरसल्लाहका लागि पूर्वराजासँग भेटेका हुन् ।
संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीहरुबीच आपसी समझदारी र विश्वास बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि पूर्वराजा शाह १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग भेटवार्ता गरेका थिए भने वैशाख ५ गते राप्रपाका ७ जना नेताहरूसँग निर्मल निवासमा लन्च मिटिङ गरेका थिए ।