५ असार २०८२, बिहीबार

दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति


दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी प्रसाईंलगायतलाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको हो ।

प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

प्रहरीले अनुसन्धान सकिए पनि उनीहरूको अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भन्दै म्याद थपका लागि बिहीबार अदालत पेस गरेको थियो । उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ ।

संगठित मुद्दामा अनुसन्धान भएका कारण उनीहरूविरुद्धको मुद्दा ६० दिनभित्र जिल्ला अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !