५ असार २०८२, बिहीबार

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय


सार्वजनिक लेखा समिति

काठमाडौँ । सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ ।

समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाएको बताए ।

यसका साथै बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरुबारे अध्ययन गर्न गठित सातवटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिकै प्रतिवेदनले किटान गरेको थियो ।

२०६६ माघ १८ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्मलगायत चलाउन काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !