
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको घरमा चोरी भएको छ । पर्यटन राज्यमन्त्री चौधरीको कैलालीस्थित घरमा चोरी भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद समेत रहेका राज्यमन्त्री चौधरीको लम्किचुहा नगरपालिका-४ बलियास्थित पाँचतले घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले जनाएको हो ।
मन्त्री चौधरीको घर तीन महिनादेखि खाली नै भएको बताइएको छ । हिजो बुधबार दिउँसो पौने ४ बजेतिर घरमा चोरी भएको भन्ने खबर प्रहरीले पाएको थियो । तीन महिनादेखि बन्द रहेको घरमा कहिले चोरी भएको थियो भन्नेबारे यकिन नभएको प्रहरीको भनाइ छ।
घरको दोस्रो तलाको ग्रिल निकालेर घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घरमा रहेका सुनका औंठी, सिक्री लगायत गहना, चाँदीका सामग्री र ६५ हजार नगद चोरी भएको परिवारले बताएका छन् ।