
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि संसद्मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम आज स्थगित गरिएको छ ।
स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला बताएका छन् ।
संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम स्थगित गरिएको हो ।
प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत आजको बैठकमा कार्यसूची राखिएको थियो । आज विहान ११ बजेका लागि संसद बैठक बोलाइएको छ ।
यसअघि हिजो सोमबारको मन्त्रिपरिषद् बैठक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट पनि स्वास्थ्यका कारण हुन नसकेको बताइएको थियो ।