३ जेष्ठ २०८२, शुक्रबार

रिहा भए रेशम चौधरी


रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आजै रिहा भएका छन् । सर्वोच्च अदालतले नाउपाका संरक्षक चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेपछि उनी रिहा भएका हुन् ।

नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी सर्वोच्चले आधिकारिक पत्रपछि पठाएपछि रिहा भएका हुन् । सर्वोच्चका सह-रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख गरिएको थियो ।

यसअघि सर्वोच्चले चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको प्रष्ट पारेको थियो । अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको थियो ।

चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट आफैँ पक्राउ परेका छन् । चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत विष्टलाई प्रहरीले सर्वोच्च परिसरबाटै नियन्त्रणमा लिएको हो ।

विष्टलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएको हो । अनधिकृतरूपमा पत्र लेख्ने अधिकृतलाई कानुनबमोजिमको कारबाहीको प्रक्रिया थालिसकेको सर्वोच्चले जनाएको छ ।

विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको बताइएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए ।

पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकोले सर्वोच्चका अधिकृत विष्टले लेखेको पत्रका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

ती दुई पार्टीवीच आज बिहान ११ बजेका लागि घोषणा कार्यक्रम राखिएतापनि चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको थियो । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका थिए ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० साल जेठ १५ गते जेलमुक्त भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !