
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट आफैँ पक्राउ परेका छन् ।
चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत विष्टलाई प्रहरीले सर्वोच्च परिसरबाटै नियन्त्रणमा लिएको हो । विष्टलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएको हो ।
विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको बताइएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए ।
उनले लेखेको सोही पत्रका आधारमा चौधरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।