
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । दुई पार्टीको एकता घोषणसभा स्थलबाट नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो ।
ती दुई पार्टीवीच आज बिहान ११ बजेका लागि घोषणा कार्यक्रम राखिएतापनि चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको हो । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका छन् ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० साल जेठ १५ गते जेलमुक्त भएका थिए । एकता प्रक्रियालाई प्रभावित पार्न चौधरीलाई पुन: पक्राउ गरिएको उनका पार्टीका कार्यकर्ताले बताएका छन् ।
फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकोले सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरिएको प्रहरीले प्रष्ट पारेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट गरेकी थिइन् ।
घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरिएको छ ।