३ जेष्ठ २०८२, शुक्रबार

पार्टी एकता हुने दिनै पक्राउ परे रेशम चौधरी


रेशम चौधरी फाइल फोटो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग आज बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । उनलाई सादा पोशाकका प्रहरीले प्रज्ञा भवनबाट पक्राउ गरेका हुन् ।

चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले डिल्लीबजार कारागार पठाएको छ । एकता प्रक्रियालाई प्रभावित पार्न चौधरीलाई पुन: पक्राउ गरिएको उनका पार्टीका कार्यकर्ताले बताएका छन् ।

फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकोले सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरिएको प्रहरीले प्रष्ट पारेको छ ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० साल जेठ १५ गते जेलमुक्त भएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट गरेकी थिइन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !