
काठमाडौँ । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
रकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेकोले प्रधानमन्त्री ओली रिसले आगो भएर तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् । ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए ।
सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।
घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उनले बताएका थिए ।सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।
तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए । दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए । उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए । तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका छन् ।