
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नयाँ वर्ष २०८२ को सन्दर्भमा आज सुरक्षा विटमा कार्यरत सञ्चारकर्मीहरूसँगको भेटमा उनले शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषय सत्ता साझेदारीसँग जोडेर आशङ्का नगर्न आग्रह गरे।
उनले भने, ‘सरकारमा कुनै समस्या छैन। गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीका एक सदस्यले राजीनामा दिनुभएको हो। त्यसलाई फेरि पूर्णता दिई अगाडि बढ्नुपर्ने हुन्छ। आगामी मन्त्रिपरिषद् बैठकमा छलफल गरी पूर्णता दिने तयारी छ।’
गृहमन्त्री लेखकले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र स्रोतसाधन सम्पन्न सुरक्षा निकायलाई आफ्ना प्राथमिकतामा रहेको बताए। साथै, कानुनी तथा नीतिगत सुधारलाई सँगसँगै अघि बढाइरहेको उल्लेख गर्दै भने, ‘नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न सकिँदैन।’
उनले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसम्बन्धी ऐनहरू संसद्को समितिमा छलफलका लागि पुगिसकेको जानकारी दिँदै मन्त्रालय अहिले जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐनको परिमार्जनको तयारीमा रहेको बताए।
गृहमन्त्री लेखकले भने , ‘हज तथा नागरिकता सम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पुगेको छ भने कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको छ। अन्य महत्त्वपूर्ण कानुन पनि चाँडै संसद्मा प्रस्तुत गरिनेछ।’
अध्यागमन प्रशासन सुधार गर्न मापदण्ड बनाउने निर्देशन दिइसकेको उल्लेख गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सेवा प्रवाहमा सुधार आएको जानकारी पनि दिए ।
कार्यसम्पादनका क्रममा मातहत निकायबाट कहिलेकाहीँ कमजोरी हुनसक्ने स्वीकार गर्दै गृहमन्त्री लेखकले त्यस्ता अनुभवबाट सिकेर अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रमा आलोचना स्वाभाविक भएको उल्लेख गर्दै सञ्चार माध्यमलाई कमजोरी औँल्याई सहयोग गर्न पनि आग्रह गरे।
यस्तै उनले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिए । सो घटनाबारे प्रहरी स्वयम् आन्तरिक छानबिनमा जुटिरहेको र निष्पक्ष, स्वतन्त्र, व्यावसायिक रूपमा छानबिन गरिने स्पष्ट पारे ।
‘प्रहरी घटनाको वास्तविकताको तहसम्म पुग्नेछ। छानबिन निष्पक्ष र गहिरो हुनेछ,’ उनले भने। सो प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने तयारीसमेत भइरहेको जानकारी दिए ।
गृहमन्त्री लेखकले भारतको कश्मीर क्षेत्रमा भएको घटनामा रुपन्देहीका सन्दीप न्यौपानेको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। नेपालमै इन्जिनियरिङ अध्ययनरत न्यौपाने पारिवारिक भ्रमणका क्रममा आक्रमणमा परेका थिए।
उनले घटनाबारे यथार्थ बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी पनि दिए । आन्दोलनरत शिक्षकका मागबारे विभिन्न कोणबाट छलफल भइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गरेर अघि बढ्ने तयारी भएको बताए।
‘शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्छ। शिक्षकसँग वार्ता र संवादमार्फत आन्दोलन सम्बोधन गर्ने पक्षमा सरकार छ,’ उनले भने, ‘सरकार शिक्षकसँग छलफलमै छ ।’