१० चैत्र २०८१, आइतबार

रास्वपाका सांसदले सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनेपछि संसदमा हंगामा


संसदमा हंगामा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसको नेताले कब्जा गरेको भनेपछि संसदमा हंगामा मच्चिएको छ ।

आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा रास्वपाका सांसद शिशिर खनालले नेवारी समुदायको चिहानको जग्गा कांग्रेसका नेताले भोगचन गरेको स्थानीयको गुनासो रहेको बताएका थिए ।

उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले कुनै पहल नगरेको आमगुनासो छ ।

यस्तै तारकेश्वर–१० मा सरकारी जग्गाबाट प्लटिङ गरेको जग्गामा बाटो लगेको भन्दै स्थानीय जनताले विरोध गरेको उनले बताए । तर, नजिकै रहेको वडाले कुनै तदारुकता नदेखाएको उनले बताए ।

खनालले आफ्नो धारणा राखिसकेपछि कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउँदै समय मागे । तर, सभामुखले कुनै नेतालाई नतोकेको भन्दै सोझै प्रतिवाद नगर्न आग्रह गरे र बैठक अघि बढाए ।

त्यस्तै आजकै बैठकमा रास्वपाकै सांसद सुमना श्रेष्ठले पनि सोही विषय उठाइन् । उनले पनि कांग्रेसका नेताले सरकारको नाममा रहेको जग्गाको भोगचलन गरेको गुनासो स्थानीयको रहेको बताएकी थिइन् ।

श्रेष्ठले धारणा राखिसकेपछि कांग्रेसका सांसदहरूले उठेर समय माग गरे । काँग्रेस सचेतक सुशिला थिङ, सांसदहरू राजेन्द्र कुमार केसी, राजेन्द्र बजगाईंलगायतले उठेर विरोध गरे । उनीहरूले पार्टीलाई लाञ्छना नलगाउन भन्दै आपत्ति जनाएका थिए ।

उनीहरू उठेपछि सदनको कारबाही अवरुद्ध भएको थियो । त्यसपछि सभामुखले आसनग्रहण गर्न आग्रह गरे । उनले सार्वजनिक ढंगबाट विचार राख्दा सांसद स्वयं जिम्मेवार हुनुपर्ने बताए । उनले आफूले समय पाउँदामात्रै बोल्न पनि सांसदलाई आग्रह गरे ।

कांग्रेस सांसदहरूले ‘कुन नेताले गरे’ भन्दै नाम तोक्न माग गरे । सभामुखले कुनै नेताको नाम नलिएको भन्दै सदनमा लाञ्छना लगाए बहस नटुंगिने बताए ।सभामुखले आसनग्रहण गर्न आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेपछि बैठकको कारबाही अघि बढ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !