
काठमाडौं । हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गते शुक्रबार बस्दैछ ।
बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग हिउँदे अधिवेशन, सरकारले ल्याउने विधेयकको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।
माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । आगामी संसद् अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि उनले सचेतकहरूलाई आग्रह गरे । समितिको बैठक नियमित बस्न र विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन पनि सभामुखले आग्रह गरेका छन् ।