
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । रास्वपाका सभापति लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको हो ।
जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए ।
हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमिततामा रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।
बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यसअघि उनी कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।