१३ बैशाख २०८१, बिहिबार

अबको बाटो समृद्धि : मुख्यमन्त्री राई


sherdhan

१७ असार, इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा राख्नुभएको हो ।

देशले संविधान निर्माणसँगै नेपाली जनतालाई समृद्धिको मार्गतर्फ अघि बढाउन तीन तहको सरकारको समेत चुनाव सम्पन्न गरी नयाँ नीति बजेट र कार्यक्रम धमाधम ल्याउने कार्य गरेको बताउँदै उहाँले योजना प्रभावकारी बन्न नसक्लाकी भन्ने प्रश्न उब्जनु् स्वभाविक हुनेतर्फ आफूहरु सचेत रहेका छौ भन्नुभयो ।

मुख्यमन्त्री राईले कतिपय सन्दर्भ र विषयमा जनअपेक्षित बजेट व्यवस्थामा ध्यान नपुग्नु प्रभावकारी कार्यक्रममार्फत जनताको घरदैलोमा परिवर्तनको अनुभूति पुग्न नसकेकोतर्फ पनि प्रदेश सरकारले गम्भीर भएर प्रादेशिक बजेट नीतिमा पुनरावलोकन गरिरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राईले अहिले पहिलो चरणमा नै संघीयताको सफल कार्यान्वयन गर्ने मार्गमा आफैँले नीति योजना एवं ऐननियम बनाएर अघि बढ्ने अवस्थामा रहेकाले जनअपेक्षित सफलता प्राप्तिमा कमी कमजोरी देखिन सक्ने स्पष्ट पार्नुभयो ।

उक्त बहस कार्यक्रममा अर्थशास्त्री एवं प्रा डा पीके झाले विश्वका विकसित मुलुकले थोरै समयमा ठूला प्रगति र उन्नति हासिल गर्नुको पछाडि विषयवस्तुको पहिचान र स्पष्ट नीतिसँगै कार्यान्वयन पक्षमा इमान्दार बनेर समर्पित बन्नु नै हो भन्नेतर्फ सबैले हेक्का राख्न जरुरी रहेको बताउनुभयो ।

एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले टेलिभिजनले ११ औँ वार्षिकोत्सव मनाउँदै गर्दा उच्च दक्षतासहितको जनशक्ति तयार पार्दै यो वर्ष तीन प्र्रदेशमा उच्च प्रविधिसहितको प्रादेशिक प्रसारण केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।

झोलुंगेपुल उद्घाटन

इटहरी उपमहानगरपालिका–३ को विकट स्थानमा रहेको सिद्धार्थ टोल र प्रगति टोलको आन्तरिक पर्यटकीय क्षेत्र खोर्साने खापलाई एकआपसमा जोड्न शेरा खोलामा निर्माण गरिएको झोलुंगे पुलको प्रदेश १ का सांसद एवं नेकपा नेता सर्वध्वज सावाले शनिबार उद्घाटन गर्नुभयो ।

इटहरी डुबानका अभिसापका रुपमा लिने गरिँदै आएको शेरा खोलामाथि सरकारको जिल्ला प्राविधिक कार्यालयको प्रत्यक्ष निगरानी र लगानीमा रु ७३ लाख ८४ हजारको लागतमा निर्मित उक्त झोलुंगे पुल ९३ मिटर लामो रहेको जिल्ला प्राविधिक कार्यालय सुनसरीका डिभिजनल इञ्जिनियर जीतेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !