३० असार २०८१, आइतबार

दोस्रो पटक परराष्ट्र मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहेका थिए । प्रधानमन्त्री दाहालले आज गरेको मन्त्रिपरिषद् गठनमा उनी उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त भएकी हुन् ।

उनले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यसअघि उनी २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बनेका थिए । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहेका उनको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उनले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०४२ सालमा नेकपा (चौम) को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गरेका थिए । उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि थिए ।

संविधानसभा सदस्यसमेत रहिसकेका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित भएका हुन् । उनका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उनले जेलजीवन बिताएका छन् ।

ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा संयोजन गर्ने कुशल संयोजकका रूपमा उनलाई लिइन्छ ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उनलाई आन्दोलनकारीबीच थप चर्चामा पुर्याएको थियो ।

अठार वर्ष भूमिगत रहेका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक भए । उनले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गरे । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको ‘पेरिफेरि’मा नै छन् ।

मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गरे । उनी पढ्नमा तीक्ष्ण थिए । सधैँ कक्षाका प्रथम भए । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोडेका थिए । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । उनले अर्थशास्त्रमा पनि स्नातक गरेका छन् ।

पन्ध्र वर्षमा एसएलसी उत्तीर्ण गरेका उनी १६ वर्षको उमेरमा नै जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई केन्द्रीय कारागाारमा राखिएको थियो । उनी दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल परे । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ परे ।

मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिएका हुन् । २०४७ सालमा मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उनी नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !