६ श्रावण २०८१, आइतबार

एनसेलले कर छलेको भए सरकारले छोड्दैन : अर्थमन्त्री महत


डा. प्रकाशशरण महत

विदुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर छलेको भए सरकारले नछोड्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थ मन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ । त्यसको पनि छानबिन हुँदै गरेको छ ।’

उनले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने स्पष्ट पारे । मन्त्री डा. महतले भन्नुभयो, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’

‘अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ’, मन्त्री डा. महतले भने, ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमान्दारिता चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।’

मन्त्री डा. महतले भने, ‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशुली नदीजस्तै हो– नेपाली कांग्रेस । समस्या कांग्रेसभित्र पनि रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या कांग्रेसभित्र छ ।’ कांग्रेससँग धेरै पुस्ता जोडिएका छन्, लामो समयसम्म उठबस हुँदा उही अनुहार देखिन्छ, पार्टीभित्र प्रतिस्पर्धा पनि हुन्छ, निर्वाचन पनि वडासम्म पुग्छ । हारेको, हराएको अनुभूति हुन्छ । त्यसलाई हामी मनभित्र कसेर राख्छौं । त्यसपछि आफ्नैलाई शत्रु देख्ने खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले स्पष्ट पारे ।

वास्तवमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र स्थापित गरौं भनेर त्यसो गरिएको हो । आन्तरिक शत्रुता, वैमन्शता बढाउन आन्तरिक प्रतिस्पर्धा नगरिएको उनले स्पष्ट पारे । उनले नुवाकोटमा पनि यो परम्पराको शृङ्खला लामै भएको बताए । पार्टीकै प्रतिनिधि सत्तामा पुगेको, इमान्दारिताका साथ काम गरिराखेको, परिणाम पनि ल्याइराखेको छ, त्यसलाई अपनत्व लिनुको सट्टा प्रश्नै मात्र गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने काम भएको उनले बताए । कांग्रेसले नै गरेको काम कांग्रेसले नै नकार्ने काम भएको भन्दै उनले स्पष्ट पारे ।

आफूले पार्टीभित्र कसैलाई लान्छाना नलगाएको, आरोप–प्रत्यारोप नगरेको, अरु खराब, म राम्रो भन्दिनँ, यस्ता कुरा भन्नुपर्यो भने सार्वजनिक ठाउँमा होइन, पार्टीले बोल्न दिएको ठाउँमा मात्र बोल्छु भन्दै मन्त्री डा. महतले भने, ‘यस्ता कुराले पार्टी र व्यक्तिलाई हित गर्दैन ।’

पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा. महतले स्पष्ट पारे । यो गरेको कामलाई प्रकाश महतले गर्यो भन्नुपर्दैन, हामीले पठाएको प्रतिनिधिले गर्यो अथवा कांग्रेसले गर्यो भनेर अपनत्व लिन उनले आग्रह गरे । यसको फाइदा भोलि चुनावमा व्यक्तिले होइन, कांग्रेसले पाउँछ, नत्र जनता भ्रमित हुन्छन भन्दै उनले भने, ‘दुवै निर्वाचन क्षेत्रमा काम भएको छ ।’

‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानीपौवादेखि उताको खण्ड टुंगियो । ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उनले भने, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौं ।’

राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर हामी अगाडि बढ्नुपर्ने मन्त्री डा. महतले बताए । पार्टीको गठबन्धन हामीले आवश्यकताको सिद्धान्तमा गरेको स्पष्ट पार्नुहुँदै उनले भने, ‘सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन । हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ ।’ हामीले आफ्नो क्षमता वृद्धि गरौं, एकअर्कोको खुट्टा नकाटौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !