१४ चैत्र २०८१, बिहीबार

जनमतकी अनिता अनितादेवी साहले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ


अनितादेवी साह

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी अनितादेवी साहले आज सोमबार बिहान सपथ लिएकी छन् ।

जनमत पार्टीकी सांसद समेत रहेकी मन्त्री साहलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) को हिजो आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेर मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् ।

उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएका थिए । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसकेकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् ।

विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छन् । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गरेकी उनी एक दशक महिला अधिकार र समाजसेवा सम्बन्धित काममा आबद्ध थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !