३० असार २०८१, आइतबार

बजेट नसच्याए गठबन्धन सरकार ढल्छ : अध्यक्ष नेपाल


माधव नेपाल संसदमा फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशय व्यक्त गरेका हुन् ।

अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिएका हुन् । उनले बजेट तीन जिल्लाहरु गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको बताउँदै आएका छन् ।

साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपी नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् ।

सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा आशंंका उत्पन्न भएको छ ।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !