८ बैशाख २०८१, शनिबार

बन्दरगाहसँग नेपाली भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेले संसद्‌मा जवाफ माग्ने


एमाले संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बन्दरगाहसँग नेपाली भूमि साट्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति संसद्‌मा जवाफ माग्ने भएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डको बन्दरगाहसँग नेपालीभूमि साट्ने आएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै भोलि प्रधानमन्त्रीसँग जवाफ मागिने र सदनमा यो कुरा उठाउने पनि बताए ।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशको हित, सीमा समस्या इपिजी प्रतिवेदनका विषयमा कुरा उठाउन नसकेको बताए । उनले प्रधानमन्त्रीको यो भ्रमण देशको हितमा भन्दा पनि एउटा तिर्थाटनमा गएको जस्तो देखिएको बताए ।

प्रमुख सचेतक गिरीले भोलिदेखि संसदमा शुरू हुन लागेकाे बजेट माथिको छलफलमा नेकपा एमालेको भूमिकाकाे बिषयमा छलफल भएकाे जानकारी दिए । उनले बैठकमा बजेटका सकारात्मक पक्ष र कमीकमजोरीका विषयमा विज्ञबाट प्रष्ट पार्ने काम भएको बताए ।

बैठमा अध्यक्ष केपी ओलीले मुलुकको राजनैतिक अवस्था र बजेटमाथिको आफ्नो दृष्टिकोण राखेको पनि उनले बताए । उनले बजेट कर्मकाण्डी भएकाे, शिक्षा र स्वास्थ्यलाई ध्यान नदिएको तथा यसले अर्थतन्त्रको सुधार गर्न नसक्ने भएकाले यसको खुलेर विरोध गर्नुपर्ने बताए ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको बताउँदै प्रमुख सचेतक गिरीले संसदलाई छलेर राष्ट्रघात गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !