८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

भारतको चारदिने औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानबाट भारत गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा गएका हुन् । प्रधानमन्त्री दाहालले भोलि जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

सम्झौतासँगै दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो औपचारिक भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण पुरा गरी यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !