१३ बैशाख २०८१, बिहिबार

बालेनको सांसदलाई व्यंग : विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो


बालेन शाह फाइल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसदहरु सांसद विकास कोषको पैसा लिएर वडाध्यक्षको लेबलमा आएको भन्दै व्यंग गरेका छन् ।

आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले सांसद विकास कोषबाट ५ करोड पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको कटाक्ष गर्दै वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ? भनेर लेखेका छन् ।

मेयर शाहले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सांसद विकास कोष ब्युँताएपछि उक्त टिप्पणी गरेका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बजेट सार्वजनिक गर्दै सांसद विकास कोष अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् ।

सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको भन्दै नागरिकको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए । मेयर बालेनले सांसदहरुलाई व्यंग प्रहार गर्दै सरकारको उक्त कदमप्रति पनि अप्रत्यक्ष रुपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !