१२ बैशाख २०८१, बुधबार

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा


संसदीय सुनुवाइ विशेष समिति

काठमाडौँ । आज संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक जारी रहेको छ । संघीय संसद् सचिवालय, सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको बैठक जारी रहेको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक बसेको हो । उक्त बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसंगै अव सभापति चयनको प्रक्रिया अघि बढ्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको थियो ।

गत सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भएपनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् । १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसंगै प्रधानन्यायाधीशको सुनुवाइको बाटो खुलेको छ ।

उक्त समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की गरी ४ जना सदस्य रहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम गरी ४ जना नै सदस्य रहेका छन् ।

त्यस्तै सो समितिमा नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पशुपति शम्शेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।

१५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजङ्ग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेकोले उक्त समितिले आज आइतबार समितिले पूर्णता पाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !