१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी


रामचन्द्र पौडेल र रेशम चौधरी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टिकापुर घटनाका दोषी रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’

आज मात्रै सरकारले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

भोलि सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छोड्ने सरकारको सिफारिसमा आज राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएका हुन् । यस्तै आजको मन्त्रिपरिषद् बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी पनि सिफारिस गरेकालाई पनि राष्ट्रपतिले माफी दिएका छन् ।

यता सरकारले चौधरीलाई आममाफी दिन राष्ट्रपति पौडेलसमक्ष गरेको सिफारिसविरुद्ध टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) सर्वोच्च अदालत पुगेकी छन् ।

टीकापुर घटनाका तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आम माफी दिने तयारीविरुद्ध शारदाले सर्वोच्च रिट दायर गरेकी हुन् । उक्त रिट दर्ताका लागि अध्ययन भइरहेको सर्वोच्च स्रोतले जनाएको छ ।

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

यो पनि पढ्नुहोस्

रेशमलाई आममाफी दिने सरकारको तयारीविरुद्ध इन्सपेक्टर पत्नी शारदा सर्वोच्चमा

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !