१३ बैशाख २०८१, बिहिबार

रेशमलाई आममाफी दिने सरकारको तयारीविरुद्ध इन्सपेक्टर पत्नी शारदा सर्वोच्चमा


सर्वोच्च अदालत

काठमाडौं । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसविरुद्ध टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) सर्वोच्च अदालत पुगेकी छन् ।

टीकापुर घटनाका तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आम माफी दिने तयारीविरुद्ध शारदाले सर्वोच्च रिट दायर गरेकी हुन् । उक्त रिट दर्ताका लागि अध्ययन भइरहेको सर्वोच्च स्रोतले जनाएको छ ।

गणतन्त्र दिवसका दिन पारेर भोलि सोमबार चौधरीलाई आममाफी दिन आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको तयारी रहेको छ ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस पनि गरेको छ ।

यसअघि जेठ १२ गते शुक्रबार राष्ट्रपति पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा नै फिर्ता पठाएका थिए । पूर्वसांसद चौधरीको सजाय माफी निवेदनमा राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्न राय दिएको हो ।

गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएतापनि राष्ट्रपति कार्यालयले रायसहित चौधरीको फाइल गृहलाई फिर्ता पठाएको थियो ।

आम माफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला, सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानून बमोजिम गर्न भनेर राष्ट्रपति पौडेलले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

यो पनि पढ्नुहोस्

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

राष्ट्रपतिद्वारा रेशम चौधरीले आम माफीका लागि पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !