१३ बैशाख २०८१, बिहिबार

नक्कली शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन रवि लामिछानेको माग


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ बनाएर छानबिन गर्न माग गरेका छन् ।

आज बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाका सभापति लामिछाने बोल्दै नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिहरूको विशेष संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका हुन् ।

“नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ । भ्रष्टचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै आएका थियौँ, आज आरोप लाग्न कुनै राजनीतिक दल बाँकी छैन, राज्यका निकायको अनुसन्धानमा नाम आइरहेको छ, अनुसन्धान गर्ने निकायको नाम आइरहेको छ, यस्तो अवस्थामा निष्पक्ष छानबिन हुन्छ भन्न सक्ने आधार छैन” उनले भने ।

उनले अहिले भइरहेको छानबिनले जनताले चाहे जस्तो नतिजा दिन सक्दैन भने । नक्कली भुटानी शरणार्थी प्रकरणकै सवालमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री निवासमा, सिंहदरबारमा लेनदेनको विषय आइरहेको सन्दर्भ उल्लेख गर्दै यो राज्यमा हामीले कस्लाई विश्वास गर्ने ? प्रश्न गरे ।

उनले अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको भन्दै संसदीय समिति बनाएर निष्पक्ष ढङ्गले छानबिन हुनुपर्ने बताएका हुन् । उनले अहिले सरकार यस प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न पनि डराएको आरोप पनि लगाए ।

उनले भने, “विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने हुन्छ, जुनजुन निकाय लागि परेका छन् कसैको पनि विश्वास गर्ने वातावरण छैन, छानबिनका क्रममा जसजसको नाम आएको छ उसलाई सोधपुछ गर्न नहुने?, छानबिनसमेत गर्न किन डराउनुपर्ने नाम आएको मान्छेको बारेमा ।” जसजसको नाम आएको छ उनीहरु सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

“यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा प्रहरी प्रमुखले अडियो सही हो भनिरहनुभएको छ, एक पटक सोधबुझका लागि बोलाउन नहुने को हो उहाँहरु ?” सांसद लामिछानेले भने ।

उनले भ्रष्टाचार विषयलाईआफ्नो पार्टीले बारम्बार कुरा उठाउँदै आएपनि तीन राजनीतिक दल बसेर खुसुर खुसुर गरेको विषयमा आशङ्का व्यक्त गर्दै आइरहेका बताएका छन् । उनले राज्यका पदाधिकारीहरू, अनुसन्धान गर्ने त्यसका निकायका प्रमुखहरूको नाम आइरहेको पनि बताए ।

उनले अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप नभएर दिउँसै दिन दहाडै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएका विषय आइरहेको बताएका छन् ।

उनले गृहमन्त्रीले प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको बताउँदै आएपनि उनीहरूको मुटु दह्रो छ कि छैन कहाँ गएर चेक गर्ने ? भन्दै प्रश्न समेत गरे । उनले सर्वसाधारणको हकमा बयान लिन आउँछु भन्दाभन्दै समातिएको तर अहिले उच्च पदस्थलाई आरोप लाग्दा सोधपुछ समेत नगरिएकोमा आपत्ति प्रकट गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !