८ बैशाख २०८१, शनिबार

सरकार बनेको दुई महिनामै प्रधानमन्त्री मुटु प्रत्यारोपणतिर लाग्नुभयो : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार बनेको दुई महिना पुग्दा नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुटु प्रत्यारोपणतिर लागेको टिप्पणी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो पार्टीको धारणा राख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुको प्रस्तावमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लागेको बताए ।

संसदमा आफ्नो धारणा राख्दै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा शून्य नीति भएको भनेर आलोचना गरेका छन् । उनले सरकारले नीति तथा कार्यक्रममा पूर्ण रुपमा चुकेको भन्दै कुनै आधार नै नभएको बताए ।

निर्वाचनका बेलामा गठबन्धनले गरेका बाचाहरुको तुलनात्मक अध्ययन गर्दा केही पनि नभेटिएको बताए । उनले आफूले सरकारको नीति कार्यक्रममा सरकारको गन्तव्य पाउन नसकेको ओलीले बताएका हुन् ।

उनले जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम भएपनि नीति तथा कार्यक्रम उद्धेश्य र गन्तव्य आफूले पहिल्याउने कोसिस गर्दा केही पाउन नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !