६ बैशाख २०८१, बिहिबार

सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने


राष्ट्रियसभाको बैठक

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ । राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

राष्ट्रपति पौडेलले सम्बोधन गर्नु अघि दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । सो बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरूको मनोनयनसहित समिति’ गठन सम्बन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् ।

उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनकुमार बस्नेतले ‘कोभिड ११९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।

राष्ट्रियसभाको बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !