६ बैशाख २०८१, बिहिबार

लडाकु शिविर प्रकरणमा म दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू लडाकु शिविर प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको घोषणा गरेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा भएको प्रत्यक्ष सवाल-जवाफका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविर प्रकरणको बारेमा राखेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

सांसद ज्ञानेन्द्र शाहीले ८ हजार ४६० अयोग्य लडाकु कहाँ भएको र किन २/२ लाख दिन लागेको भन्ने विषयमा जिज्ञासा राखेका थिए । उनले पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकम दिएको आरोप मात्र भएको बताए ।

“विस्तृत शान्ति सम्झौतामा नै लडाकुलाई क्यान्टोनमेन्ट राख्ने सहमति नै भएको थियो”, उनले भने, “त्यस विषयमा कसैले दिएको उजुरीमा मैले म दोषी ठहर भए, म आफैँ जेल जान तयार छु ।”

शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडियोबारे प्रश्न सोधेकोमा उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोप आरोपमात्रै भएको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै सो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको समेत बताए ।

उनले सो विषयमा कसैले उजुरी गरेर आवश्यक छानबिन गरेर गरेर दोषी प्रमाणित भए आफू जेल जान तयार रहेको उनले घोषणा गरे । उनले शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाब किताबको रेकर्ड राखिएको पनि स्मरण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !