८ बैशाख २०८१, शनिबार

सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन रास्वपाको बैठक बस्दै


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन आज साँझ ५ बजे रास्वपाको बैठक बस्न लागेको हो ।

यस्तै रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज बस्ने निर्णायक बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने वा समर्थन फिर्ता लिएर प्रतिपक्ष बन्ने भन्ने बारेमा टुंगो लगाउने भएको हो ।

यसअघि गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड लागिपरेका छन् ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरेतापनि रास्वपाले भने अझैसम्म ‘ग्रिन सिग्नल’ दिएको छैन । सत्ता गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !