७ बैशाख २०८१, शुक्रबार

फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित


लक्ष्मी महतो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् ।

आज मंगलबार सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेका हुन् ।

संघीय संसद सचिवालयका महासचिव ड़ा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाबमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो ।

उच्च अदालतले २०७७ मङ्सिर १९ गते त्यस्तो आदेश दिएको भएपनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ । महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई आज सभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का निवासी कोइरी गत ४ मंसिर गते भएको आम निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए । २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा कोइरी अहिले पनि फरार सूचीमा रहेका थिए ।

आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । कोइली निर्वाचन नजिकिंदै गर्दा जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमाले प्रवेश गरेका थिए ।

एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेर चुनाव लडी विजयी भएका थिए । महतोले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तो छ हेर्नुहोस् संघीय संसदले निकालेको सूचना

संघीय संसदले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !