८ बैशाख २०८१, शनिबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको हो ।

गत बैशाख १० गते भएको उपनिर्वाचन चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन: निर्वाचित भएकोमा बधाई दिएका छन् ।

रास्वपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गर्दै आएका छन् । यसअघि सरकारबाट बाहिरिएपनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

दोस्रोपटक सांसदमा निर्वाचित भएर सिंहदरवारमा सपथ लिएपछि रास्वपा सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेपनि अझसम्म उक्त पार्टीले फिर्ता लिएको छैन भने सरकारमा जाने नजानेबारे कुनै निर्णय गरेको पनि छैन ।

रास्वपाले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्ने भएको हो ।

साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ । यसका साथै सो पार्टीले सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा पनि भोलिको बोलाएको बैठकले निर्णय गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !