६ बैशाख २०८१, बिहिबार

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक पाए विश्वासको मत


राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट तेस्रोपटक विश्वासको पाएका छन् । कर्णालीका मुख्यमन्त्री शर्माले आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकबाट विश्वासको मत पाएका हुन् ।

आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री शर्मालाई माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का एकजना र एक जना स्वतन्त्र सांसद गरी २९ जना सांसदले विश्वासको मत दिएका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभाको आजको बैठकमा आज कुल ३९ जना सांसद उपस्थित रहेकोमा नेकपा (एमाले) का ९ र राप्रपाका एकजनासहित १० जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभाको १४औँ बैठकमा आज आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । कर्णाली प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत मागेका हुन् ।

यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पनि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए । प्रदेश सरकारको काम कारबाहीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले सोको कार्यान्वयन देखिन थालेको उनले दावी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !