७ बैशाख २०८१, शुक्रबार

ठुला दलको औचित्य समाप्त भयो : मेटमणि चौधरी


मेटमणि चौधरी

दाङ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् ।

एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘ठुला दलले बदलिदो समयको माग र जनताको मनोविज्ञान बुझ्न सकेनन् । पुरानै चिन्तन र पुरानै मनोविज्ञान बोकेर उनीहरु हिँडिरहेका छन् । तसर्थ अब यिनीहरुको औचित्य समाप्त भइसकेको छ ।’

ठुला दलसँग जनतामा जाने कुनै पनि नयाँ कार्यक्रम नभएको आरोप लगाउदै पूर्वमन्त्री समेत रहेका चौधरीले एकीकृत समाजवादी अबको वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे । चौधरीले नेता कार्यकर्ताहरुलाई जनताका समस्या उठान गर्न समेत निर्देशन दिएका थिए ।

‘मैले पहिलेदखि भन्दै आएको छु । पुराना दल र तीनका नेतृत्वका शैलीका कारण यिनीहरुको विकल्प जनताले खोजिरहेका छन् । यिनले जनताका समस्या समेत सुन्न छाडेका छन् ।’ उनले थपे, ‘तत्कालीन एमालेको नेतृत्वबाट पार्टी चल्नै नसक्ने हाम्रो आँकलन अहिले सत्य सावित भएको छ । त्यसकारण नयाँ वैकल्पिक कम्युनिष्ट शक्तिको रुपमा एकीकृत समाजवादीको उज्ज्वल भविष्य छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !