८ बैशाख २०८१, शनिबार

उपनिर्वाचनमा माओवादी केन्द्र र नेकपा एसले उम्मेदवार नउठाउने


प्रचण्ड-नेपाल भेटवार्ता फाइल फोटो

काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार नउठाउने भएका छन् ।

आगामी वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको आधिकारिक उम्मेदवार नउठाउने भएका हुन् ।

माओवादी केन्द्रले चितवन-२ मा सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको छ भने तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको छ । यस्तै बारा-२ मा माओवादी केन्द्रले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

यता एकीकृत समाजवादी पार्टीले पनि तनहुँ-१ र चितवन-२ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवार यादवलाई सघाउने भएको हो ।

उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !