८ बैशाख २०८१, शनिबार

पौडेल राष्ट्रपति बनेपछि गोविन्दराज जोशीको कारबाही फुकुवा


गोविन्दराज जोशी

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फुकुवा गरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसम्पपादन समितिको बैठकले जोशीमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

जोशीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि फुकुवा गरिएको काँग्रेसका एक नेताले बताए । यस्तै काँग्रेसले चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही समेत फुकुवा गरेको छ ।

२०७४ सालको निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०५७ पुस २४ गते कारबाही गरेको थियो ।

जोशीकै बागीका कारण मत काटिँदा २०४८ सालदेखि नियमित रुपमा निर्वाचित हुँदै आएका पौडेल नेकपा (एमाले) का तत्कालिन नेता किसान श्रेष्ठसँग पराजित भएका थिए ।

तनहुँ–१ मा काँग्रेसबाट टिकट नपाउँदा अर्थविद् डा‍. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपाले तनहुँ क्षेत्र नं १ मा डा. वाग्लेलाई उम्मेदवार बनाउने भएको छ ।

वाग्लेको पार्टी परित्यागपछि शशंकित भएको काँग्रेसको नेतृत्वले पूरानो नीतिमा परिमार्जन गर्दै यसअघि पार्टीले कारबाही गरेका असन्तुष्ट नेताहरुको सम्भावित बिग्रहलाई रोक्न उद्धार रणनीति अपनाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

काँग्रेस छोडेर रास्वपा प्रवेश गरेका वाग्लेले अन्तर्वार्ताका क्रममा काँग्रेसमा अवसर नपाएर बन्चित भएको ठूलो समूहले पार्टी छोड्न सक्ने सम्भावना रहेको संकेत गरेका थिए ।

जोशीका छोरा दीपकराज जोशीले तनहुँको ब्यास नगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार लडेर पराजित भएका थिए । तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जोशीका छोरा दिपकराज चुनाव लड्ने सोचमा छन् ।

दिपकराजले तनहुँ–१ मा एमालेको साथ खोजेपनि एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । हिजो पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ-१ मा खनाललाई उठाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !