१३ बैशाख २०८१, बिहिबार

माओवादी पार्टीहरूबीचको पार्टी एकतामा जोड


कर्णजित बुढाथोकी

काठमाडौँ । नेकपा माओवादी (समाजवादी) ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोता नेतृत्वको नेकपा बहुमत र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत पूर्वमाओवादीहरूबीच एकतामा जोड दिए ।

दश वर्षसम्म सँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता अहिले विभिन्न पार्टीमा विभाजित भएका छन् । पछिल्लो समयमा भने पूर्वमाओवादीबीचको एकताबारे छलफल चलिरहेको छ ।

अध्यक्ष बुढाथोकीले भने, “देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समूहमा विभाजन हुँदा उसको योगदन र एजेन्डाहरू संस्थागत हुनसकेको छैन, अब योगदानलाई संस्थागत गर्नका निम्ति पनि माओवादीहरू सबै एक ठाउँमा आउनुपर्ने अहिलेको आवश्यकता छ ।” उनले माओवादी शक्तिबीचको बृहत् एकतालाई बिथोल्नेहरू माओवादीभित्रै रहेको आरोपसमेत लगाए ।

सो पार्टीका स्थायी समिति सदस्यद्वय दीपक जङ्गम र कृष्ण खड्का, निर्माण व्यवसायी संयोजक मदन ढकाल र पोलिटब्यूरो सदस्य सुभाष लामाले माओवादीहरू विभाजित भएका कारण परिर्वतनका मुद्दा संस्थागत हुन नसकेको तर्क गरे । नेकपा माओवादी (समाजवादी)ले आज १८ वटा जनवर्गीय सङ्गठनका नेतृत्वहरूको घोषणा पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !