७ बैशाख २०८१, शुक्रबार

मिटरब्याज पीडितको आन्दोलनलाई एकीकृत समाजवादीको पनि ऐक्यबद्धता


झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि मिटरब्याज पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको हो ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गरेको हो । नयाँ वानेश्वर पुगेर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग सरकारले पुरा गर्नैपर्ने बताएका छन् ।

नेता खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताउदै मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । उनले देशभर मिटरब्याजीहरु फैलिएकाले सरकारले रोक्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिटरब्याजीको समस्या समाधान गर्न ध्यानकर्षण गराएका हुन् । उनले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने भन्दै मिटरब्याजीहरुले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको मागमा समर्थन गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् ।

यसअघि हिजो जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका थिए । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका थिए ।

यसैगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि मिटरब्याजी पीडितको मागप्रति ऐक्यबद्धता जनाएका छन् । शाहले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !