३१ असार २०८१, सोमबार

डा. आरजु राणाको निर्देशन : तरुण दललाई पहिलो नम्बरको संगठन बनाउनू


डा. आरजु राणा

बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन् ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन् ।

अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनले बताइन् ।

“अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो”, उनले भनिन्, “भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरु बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।”

अरु जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रेपलाञ्चोक जिल्लामा सूर्यमुखी कांग्रेस धेरै भएको उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उनले धारणा राखिन् ।

तरुण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि सङ्गठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उहाँले जोड दिइन् ।

सो क्रममा उनले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उनले सुझाव दिइन् ।

नेपाल तरुण दलका पूर्वसभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले पछिल्लो समयमा नयाँ पुस्ताका युवाले नयाँ पार्टीमा भोट हालेर गरेको गल्तीबाट पाठ सिकेर आफ्नो पार्टीमै फर्काउने परिस्थिति निर्माण गर्नका लागि तरुण दल र नेविसङ्घलाई भूमिका खेल्न आग्रह गरे ।

अझै पनि तरुण दल, महिला सङ्घ र नेविसङ्घ केन्द्रलाई छिट्टै पूर्णता दिनका लागि पार्टीले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । निर्वाचन सकिएको चार महिना बितिसक्दासमेत अहिले पनि सरकार बनाउनेतर्फ नै केन्द्रित हुनुपर्ने अवस्था रहेको भन्दै अब पार्टीले त्यसलाई छिट्टै टुङ्ग्याएर पार्टी सङ्गठन निर्माणमा केन्द्रित हुन पार्टी नेतृत्वले सोच्न आवश्यक रहेको बताए ।

नेपाल तरुण दलका केन्द्रीय सभापति विद्धान गुरुङले सङ्घ र प्रदेश तथा स्थानीय तहको निर्वाचनमा तरुण दल भूमिका महत्वपूर्ण भएको भन्दै उनले निर्वाचनमा अन्तरघात गर्ने नेता र कार्यकर्तालाई पार्टीमा बसिरहन छुट नभएको बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले तरुण दलको विधानअनुसार सङ्गठन विस्तार गर्दै पार्टीको नीति र योजनालाई कार्यान्वयन गर्नका लागि दृढ भएर लाग्न आग्रह गरे । जिल्ला समितिलाई पूर्णता दिँदै सबै पालिका र वडामा समेत सङ्गठन निर्माण गर्दै सक्रिय भएर पार्टी निर्माणमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, रामहरि खतिवडा, बहादुरसिं तामाङ, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, क्षेत्रीय सभापति दिनेश लामा, चन्द्र लामालगायतले धारणा राखेका थिए ।

आज सम्पन्न भएको बृहत तरुण भेलाले सुजन लामाको सभापतित्व र उपसभापति सचेत दुवाल र विजेन रञ्जित उपसभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा सचिवमा सुरज तिमल्सिना र स्मारिका तामाङ, सहसचिवमा राजेश जिम्बा, देवसिंह लामा, सन्दीप अर्याल र मिलन लामा, कोषाध्यक्षमा रामशरण पराजुली कोषाध्यक्ष एवं सहकोषाध्यक्षमा शेरबहादुर वाइबा चयन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !