७ बैशाख २०८१, शुक्रबार

बागमतीका मुख्यमन्त्री जमकट्टेलले दोस्रोपटक पाए विश्वासको मत


शालिकराम जमकट्टेल

मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । बागमतीका मुख्यमन्त्री जमकट्टेलले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत पाएका हुन् ।

बागमती प्रदेशसभामाको कूल ११० सदस्यमध्ये आजको बैठकमा ९१ जना प्रदेशसभा सदस्य उपस्थित थिए । विश्वासको मत प्रस्तावको पक्षमा ६७ मत परेको छ भने विपक्षका १७ जना प्रदेशसभा सदस्यको मत परेको छ । आज ७ जना सांसद विश्वासको मत दिन्न भन्ने पक्षमा वा तटस्थ रहे ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका थिए ।

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी) को सात, नेपाल मजदुर किसानको ३ र हाम्रो नेपाली पार्टीको २ जना गरी ११० सदस्य रहेका छन् ।

यसअघि बागमतीका मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते मंगलबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा परेपछि उनले दोस्रोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

गत पुस २६ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनबाट मन्त्रिपरिषद् गठन भएको र राप्रपाका मन्त्रीहरूले फागुन १६ गते मन्त्री पदबाट राजीनामा दिई पार्टीको तर्फबाट दिइएको समर्थन फिर्ता लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !