८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले आज दोस्रोपटक विश्वासको मत लिंदै


प्रधानमन्त्री प्रचण्ड संसदमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चैत ६ गते विश्वासको मत लिंदै छन् । प्रधानमन्त्री प्रचण्डले आज सोमबार संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यी दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमत परेपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने भएका हुन् ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अब नेपाली कांग्रेसले सरकारलाई समर्थन दिने भएको हो । कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएतापनि रास्वपाले समर्थन कायमै राखेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए ।

नेपालको संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ ।माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन रहने विश्वास गरिएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद हुन् । प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !