७ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न बस्ने भनिएको रास्वपाको बैठक स्थगित


रास्वपा बैठक फाइल फोटो

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय गर्न आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक एकाएक स्थगित गरिएको छ । आज शुक्रबार बिहान साढे ११ बजे बस्ने भनिएको रास्वपाको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरिएको हो ।

आज बस्ने भनिएको रास्वपाको बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट दिने भन्नेबारे निर्णय गर्ने भनिएको थियो । उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार नै हुँदैछ भने हालसम्म रास्वपाले कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

उपराष्ट्रपति निर्वाचनमा आचारसंहिता लागू भइसकेको कुनै पाटीले बैठक बस्न नमिल्ने भएकोले आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौन अवधि मंगलबार रातिदेखि नै सुरु भएको जानकारी गराउँदै राजनीतिक दलहरूलाई बैठकमार्फत उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको थियो ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार रहेका छन् । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएकोले उपराष्ट्रपतिमा पनि गठबन्धनकै उम्मेदवारलाई दिने प्रवल सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !