१२ बैशाख २०८१, बुधबार

स्ववियु निर्वाचन : मौन अवधिमा के गर्न पाइन्छ, के पाइँदैन ?


त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आजदेखि मौन अवधि लागू भएको छ । स्ववियु निर्वाचनमा हिजो रातिदेखि मौन अवधि सुरु भएको हो ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार हिजो राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले हिजो राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए । उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिए ।

यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।

स्ववियु निर्वाचन : मतदान केन्द्र यी सामान लैजान प्रतिबन्ध

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रङ, मसी लैजान निषेध गरिएको छ ।

यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल बस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।

उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !